धनगढी: नेकपा एमाले सुदूरपश्चिमभित्र दुई नेताको विषय निकै चर्चाको विषय बनेको छ। विषय हो, एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य एवं वर्तमान सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबीचको मतभेद।
उसो त जानकारहरुले थापा र भण्डारीको समधुर सम्बन्ध पहिल्यैदेखि नभएको बताउँदै आएका छन्। तथापी केही समय अगाडि त्यो पुष्टि नै भएको छ। थापाले आफ्नै गृहजिल्ला बाजुराबाट भण्डारीमाथि आर्थिक अपचलनको आरोप लगाएपछि भण्डारीका समर्थकले पनि थापाविरुद्ध आगो ओकलेला छन् भने सामाजिक संजालमा चर्काचर्की परेको देखिन्छ।
सोही क्रममा भण्डारीका समर्थकविरुद्ध थापापुत्र नरेन्द्र थापाले पनि आलोचनात्मक विषयवस्तु उठाएका छन्।
त्यसो त अचेल थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पनि विरोध गर्दै आएका छन्। तथापी सार्वजनिक कार्यक्रममै ओलीको कार्यशैलीविरुध्द खरो भाषण दिँदै आएका उनले वर्तमान उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीमाथि पैसा खाएको गम्भीर आरोप लगाएपछि झन विवाद छताछुल्ल भएको हो।
केही दिनअघि बाजुरामा भएको एक कचहरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले नामै किटेर मन्त्री भण्डारीले स्टार्टअप कार्यक्रममा पैसा खाएको बताएका थिए।
उनले भनेका थिए,‘मन्त्री भएका मान्छेलाई काम गर भनेर पठाएको हो। मन्त्री भएको मान्छेले पैसा खान्छ भने त्यसको जिम्मेवारी उसले लिनुपर्छ,मैले सुनिराखेको छु, स्टार्टअप कार्यक्रममा मन्त्री हाम्रै छन्,त्यहाँ पैसा लिएर गर्या छन् अरे,त्यो उद्योग शुरु गर्नका निम्ति स्टार्टअप कार्यक्रम राज्यको नै थियो, त्यो व्यक्तिको होइन्। त्यहाँ दुरुपयोग भएको छ भने त्यसको जिम्मा दामोदर भण्डारीले लिनुपर्छ। अरुले लिँदैन।’
थापा हाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन्। उनले नेतृत्व र पार्टीका मन्त्रीको सार्वजनिक रुपमै विरोध गर्न थालेपछि ओलीले बालुवाटारमा बोलाएर घण्टौं छलफल गरेको पनि बताइन्छ।
के हो स्टार्टअप कार्यक्रम ?
राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८१ स्वीकृत भएर अहिले कार्यान्वयनको चरणमा छ। बजेटमा समेट्न थालेको १० वर्षपछि सरकारले स्टार्टअप नीति बनाएर कार्यान्वयनमा ल्याएको हो। यो नीतिले लगानी नभएका तर केही गर्ने उपाय र ऊर्जा भएकाहरूको जीवन फेर्नसक्ने अपेक्षा गरिएको छ।
नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधिलाई टेक्दै कर्जा पाउने प्रस्ताव छनोटसम्मको काम सकेको छ।
प्रतिष्ठानले सार्वजनिक गरेको सूचीअनुसार चालू आर्थिक वर्षमा छ सय ६१ जना उद्यमीले स्टार्टअप कर्जा पाउने भएका छन्। कर्जाका लागि पाँच हजार एक सय ५८ उद्यमीले दर्ता गरेका थिए। त्यसमध्येबाट एक हजार तीन सय १४ उद्यमी परियोजनाको प्रस्तुतीकरण भएको छ सय ६१ वटा छनोट गरिएको हो। कर्जाका लागि छनोट भएका उद्यमीहरूले ४५ दिनभित्र तोकिएको बैंकको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने छ।
सहुलियतपूर्ण ब्याजदरमा उद्यमीलाई न्यूनतम पाँच लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा वितरण गर्ने कार्यविधि रहेको प्रतिष्ठानले जनाएको छ।
तर, कर्जाका लागि उद्यमी छनोटमै आर्थिक चलखेल भएको भन्दै स्टार्टअप कार्यक्रम विवादमा तानिएको हो। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले नै रकमी चलखेल गरेको आरोप लागेको हो।
स्टार्टअप उद्यम कर्जाका लागि देशभरी छ सय ६१ जना उद्यमी छनोट भएकोमा सुदूरपश्चिमबाट मात्रै एक सय ३२ जना उद्यमी छनोट भएका छन्। सबैभन्दा बढी कैलालीका ४२ र दोस्रोमा बैतडीका २३ जना छनोट भएका छन्। बैतडी मन्त्री भण्डारीको गृहजिल्ला हो। यस्तै डोटी र बाजुरका १३–१३, कञ्चनपुरका १२, अछाम र दार्चुलाका नौ–नौ, डडेल्धुराका छ र बझाङका पाँच जना उद्यमी छनोट भएका छन्।