धनगढी: धनगढीमा पछिल्लो समय लागूऔषध कारोबारी सल्बलाएका छन्। स्रोतका अनुसार ड्रग्स तस्करहरुले अहिले धनगढीमै बसेर कारोबार गर्ने गरेका छन्। जसको जालो नेपालदेखि भारतसम्म नै फैलिएको बताइएको छ। यसैक्रममा हिजोमात्र लागुऔषध कारोबारमा संलग्न तीन जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी (एनसीबी) र स्थानीय प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
धनगढी उपमहानगरपालिका–३ चौराह र उपमहानगरपालिका–१२ जुगेडाबाट गरी कुल १७ ग्राम ८५० मिलिग्राम लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। चौराहाबाट पक्राउ परेका भारत पलियाका २४ वर्षीय अबनिश कुमारको साथबाट १६ ग्राम २३० मिलिग्राम लागुऔषध फेला परेको थियो।
त्यस्तै, जुगेडाबाट धनगढी–११ निवासी ६६ वर्षीय मोती राना र ३१ वर्षीय चैना रानालाई एक ग्राम ६२० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको हो। उनीहरूको साथबाट से २ प २०८७ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले उनीहरूविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ। पछिल्लो समय सुदूरपश्चिममा लागुऔषध कारोबार बढ्दो क्रममा रहेकाले व्युरोले निगरानी कडा पारेको जनाएको छ।