बैतडी: नेपालमा सशस्त्र द्वन्द्वको समयलाई लक्षित गरी स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपालले पछिल्ला वर्षहरूमा आफ्नो परिचय, जिम्मेवारी र प्रभाव सबै क्षेत्रमा विस्तार गर्न सफल भएको छ। यही संस्थागत विस्तारको प्रत्यक्ष उदाहरण बनेको छ बैतडीको सशस्त्र प्रहरी बल नं. ५१ गुल्म, हेडक्वाटर।
२०७५ साल असोज ७ गते स्थापना भएको यो गुल्म हाल बैतडी जिल्लाको सीमासुरक्षा, राजस्व चुहावट नियन्त्रण, विपद् उद्धार तथा जनसुरक्षामा उल्लेखनीय कार्य गर्दै आएको छ। गुल्म प्रमुखको जिम्मेवारी २०८० साउन ८ गते सम्हालेका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण सिंह पुजाराको नेतृत्वमा गुल्मले विशेष प्रभाव छाडेको बताइन्छ।

उनको नेतृत्वमा जिल्लामा सीमासुरक्षा थप कडा बनाइएको थियो भने महाकाली भन्सार कार्यालयमार्फत ८५ लाखको राजस्व लक्ष्य रहेकोमा १ करोड ६६ लाखभन्दा बढी राजस्व संकलन गराउन सशक्त भूमिका निर्वाह गरिएको थियो।
पुजाराको पहलमा विभिन्न मेला, पर्व तथा महोत्सवहरूमा हेल्थ डेस्क, हेल्प डेस्क र सीमाक्षेत्रमा डेस्क स्थापना गर्दै जनमैत्री र सजग प्रहरीको छवि निर्माण गरिएको छ। साथै, आगलागी नियन्त्रण, भूकम्पपछिको उद्धार, विपद् व्यवस्थापन, लागूऔषध नियन्त्रण तथा सीमापार अपराध विरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै संगठनको नीति अनुरूप काम गरिँदै आएको थियो। त्यसपछि उनको सरुवा भयो। सरुवा भएपछि अहिले उनको स्थानमा आएका अर्का डीएसपीले पनि त्यसलाई निरन्तरता दिएको बताइएको छ।

पुजाराको कार्यकाल समापनपश्चात गुल्म प्रमुखको जिम्मेवारी सम्हालेका सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण सिंह थापाले पनि भौतिक पूर्वाधार विकास र पुनर्निर्माणमा ध्यान दिँदै पुजारा नेतृत्वको कार्यलाई निरन्तरता दिएका हुन्।
बैतडीका दुर्गम बस्तीमा सशस्त्र प्रहरी बललाई जनताले नजिकबाट चिनेको बताइन्छ। पुजारा र थापा दुवैको नेतृत्वले जिल्लामा सशस्त्र प्रहरी बल, नेपालको छुट्टै पहिचान र जनविश्वास निर्माण गर्न सफल भएको देखिन्छ।
