धनगढी: आगामी एसिसी पुरुष यू–१६ इस्ट जोन कप–२०२५ को छनोटका लागि सञ्चालन हुने राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार सचिन भट्टको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरिएको हो।
घोषित टोलीमा अविरल विक उपकप्तान रहेका छन्। अन्य सदस्यमा भास्कर जोशी, हिमाल दौल्याल, रविन भण्डारी, आहन थलाल, रवि दमाई, विक्रम बोहरा, लोकेश चन्द, सुवोध तिवारी, राहुल साउद, सुशील रावल, रितेश विष्ट र आयुष चन्द छन्। साथै, वैकल्पिक खेलाडीमा रुद्रप्रसाद आचार्य, ध्रुव लुहार, महेश देउवा र शंकर बोहरा समावेश छन्।
सचिव भट्टका अनुसार टोली हालै सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगितामा खेलाडीहरूले गरेको प्रदर्शनको आधारमा चयन गरिएको हो। उक्त प्रतियोगिता वैशाख २६ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट मैदान र कैलालीको फाप्ला क्रिकेट मैदानमा सम्पन्न भएको थियो। प्रतियोगितामा प्रदेशका आठ जिल्लाका टोली सहभागी थिए।
यु–१६ राष्ट्रिय प्रतियोगिता जेठ १९ गतेदेखि कर्णाली प्रदेशको सुर्खेतमा सुरु हुँदैछ।
यसबीच, टिम छनोटप्रति डडेल्धुरा जिल्ला क्रिकेट संघले गम्भीर आपत्ति जनाएको छ। संघका अध्यक्ष हरिप्रसाद उप्रेतीले प्रेस विज्ञप्ति जारी गर्दै टिम छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी नभएको आरोप लगाएका छन्।
उनका अनुसार डडेल्धुराबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू सुवेशसिंह रावल, एसकुमार कठायत र लोकेश चन्दमध्ये केवल एक जनालाई मात्र टोलीमा समावेश गरिएको छ। जबकि डडेल्धुरा टोलीले छनोट प्रतियोगितामा फाइनलसम्मको यात्रा तय गरेको थियो।
संघले टिम छनोटमा चिनजान, भनसुन र आर्थिक चलखेल भएको गम्भीर आशंका व्यक्त गर्दै यस्तो निर्णयले खेलाडीहरूको मनोबलमा नकारात्मक असर पार्ने जनाएको छ। साथै, भविष्यप्रति आशावादी खेलाडीहरू निराश भएको भन्दै संघले तत्काल आवश्यक सुधार गर्न सम्बन्धित निकायसँग माग गरेको छ।