धनगढी: कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीबाट प्रहरीले १ किलो ८०१ ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला जिल्ला गोठीचौर गाउँपालिका घर भएका ३८ वर्षीय मेगराज खत्री र जाजरकोटको बारीकोट गाउँपालिका–३ का ३२ वर्षीय भक्तबहादुर शाही रहेका छन्।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ सई केशव जोशी र इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख इन्स्पेक्टर ज्ञानेन्द्र सिंहको कमाण्डमा खटिएको संयुक्त टोलीले आइतबार एक अपरेसनमार्फत उक्त लागूऔषध (अफिम) सहित २ जनालाई समातेका हुन्
प्रहरीले उनीहरूलाई शंकास्पद रूपमा बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूलाई आवश्यक प्रक्रिया पुर्याई खानतलासी गर्दा कालो प्लास्टिकमा बेरि लुकाइ राखिएको अवस्थामा अवैध अफिम बरामद गरिएको प्रहरीले जनाएको हो।
अहिले पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चिसापानीमा बुझाइएको छ।
प्रहरीले पछिल्लो समय सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा अफिमको समेत कारोबार हुन आगेको भन्दै ओसारपसार तथा कारोबारीहरूमाथि कडा निगरानी र कारबाही जारी राख्ने बताएको छ।