अछाम– मतदान कार्य रोकिएको अछामको साँफेबगर नगरपालिका–१३ बाब्ला र पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीमा रहेका मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ ।
निर्वाचन आयोगको शनिबार बाब्लास्थित राष्ट्रिय माविको ‘क’ र ‘ख’ केन्द्र र लयाँटीस्थित नवज्योति माविमा रहेका ‘क’ र ‘ख’ मतदान केन्द्रमा पुनः मतदान गर्न आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४० अनुसार पुनः मतदान गर्ने व्यवस्था मिलाउन अधिकृतलाई भनिएको छ । शुक्रबार भएको मतदानका क्रममा दुवै स्थानका मतदान केन्द्रमा झडप हुँदा मतदान कार्य दिउँसोबाट रोकिएको थियो ।
बाब्लास्थित मतदान केन्द्रमा काँग्रेस–समाजवादी गठबन्धन र नेकपा एमालेबीच शुक्रबार बिहान करिब साढे ९ः०० बजे भएको झडपका क्रममा तीन जना घाइते भएका थिए । दिनभर मतदान कार्य अवरुद्ध भएको थियो । झडप हुनुअघि बाब्लाको ‘क’ र ‘ख’ मतदान केन्द्रमा ३४३ मत मात्र खसेका थिए । उक्त मतदानस्थलमा एकहजार ९६९ मतदाता रहेका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार र काँग्रेस पक्षधरबीच झडप हुँदा लयाँटीमा रहेको ‘क’ र ‘ख’ मतदान केन्द्र दिउँसो १२ बजेबाट मतदान रोकिएको थियो । उक्त झडपमा पनि तीन जना घाइते भएका छन् । तनावपूर्ण स्थितिलाई नियन्त्रण लिन प्रहरीले हवाइफायर समेत गर्नुपरेको थियो । लयाँटीस्थित ‘क’ र ‘ख’ केन्द्रमा एकहजार ५७५ मतदाता रहेकोमा झडप हुनअघि ४२१ मत खसेका थिए ।
पुनः मदतान भएपछि मात्र ति दुई स्थानीय तहमा मतगणना हुने भएको आयोगले जनाएको छ ।