काठमाडौं – ललितपुरको मतगणनास्थलमा बस्न गएका स्वतन्त्र उम्मेदवार बालेन साहलाई त्यहाँ बस्न निषेध गरिएको छ ।
काठमाडौँ महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा जारी रहँदा अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन आज (बुधबार) एक स्वतन्त्र उम्मेदवारको प्रतिनिधिका रुपमा ललितपुरको मतगणनामा बस्न गएका थिए । त्यहाँ उनलाई निषेध गरिएको छ । त्यहाँ बस्न अनुमति नपाएपछि बालेन फर्किएका छन् ।
ललितपुर महानगरको मतगणना स्थल जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा बालेन केही साथीहरुसहित गएका थिए । त्यहाँ निर्वाचन आयोगका प्रतिनिधिहरुसँग कुरा गर्दा अर्को नगरको व्यक्तिले प्रतिनिधि बस्न नपाइने जानकारी उनले पाए ।
ललितपुरको वडा नम्बर १० बाट स्वतन्त्र उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकार बालेनका राजनीतिक गुरु हुन् । व्यञ्जनकारले पञ्चायतकालदेखि निरन्तर हरेक चुनावमा भाग लिएर वडाध्यक्ष जित्दै आएका छन् ।