कैलाली– लिभिङ विथ आईसीटी र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा सुदूरपश्चिममा स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुने भएको छ । धनगढीमा वैशाख भोलि (सोमबार) स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुन लागेको कार्यक्रमका संयोजक निर्देश मास्केले जानकाकारी दिए ।
स्टार्टअप एण्ड आईडिया फेस्ट दिउँसो १ बजेदेखि र डिजिटल सुदूरपश्चिम संवाद दिउँसो २ः ३० बजेदेखि सुरू हुने आयोजकले जनाएको छ । सोही समयमा स्टार्टअपहरुको एक्सपिरियन्स सेयरिङ तथा मेन्टरिङ सेसन तथा आईडिया पिचिङ आयोजना हुनेछन् । स्टार्टअप एण्ड आईडिया फेस्टमा सुदूरपश्चिम प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न स्टार्टअप तथा प्रोडक्टमा आधारित कम्पनीहरुले सहभागिता जनाउन सक्नेछन् ।
आइडिया पिचिङ सेसनमा सहभागी कम्पनीहरुले आफ्नो व्यवसाय तथा प्रोडक्ट आईडियाबारे सुनाउने र प्रतिस्पर्धा गर्न सक्ने छन् । यसरी प्रतिस्पर्धा हुने आईडियाहरुबीच उत्कृष्ट पाँचलाई आईडिया इन्कुबेसनका लागि छनौट गरी सम्भावित लगानी भेन्चर्सहरूसँग सम्पर्कमा समन्वय गरिनेछ ।
यसैगरी एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसनमा स्टार्टअप क्षेत्रमा काम गरी स्थापित भएका अग्रणी व्यक्तित्वहरुले आफ्नो उद्यम यात्रा अनुभव साट्ने र उद्यमशीलतामा प्रशिक्षण प्रदान गर्नेछन् । साथै डिजिटल संवादमा सुदूरपश्चिम प्रदेशका निजी तथा सार्वजनिक क्षेत्रका विज्ञ सरोकारवालाहरुबीच प्यानल संवाद आयोजना कार्यक्रम संयोजक मास्कले बताए ।