कैलाली– भ्रष्टाचार मुद्दा खेपिरहेका कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवीदत्त उपाध्यायले सपथ ग्रहण गरेका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका उनले सोमबार जिल्ला अदालत कैलालीमा सपथ लिएका हुन् । उनलाई कैलाली जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले सपथ खुवाए ।
यसअघि निर्वाचन आयोगले उनलाई सपथ नगराउन निर्देशनसमेत दिएको थियो । उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेको भएपनि कानूनले सपथ खुवाउन मिल्ने अवस्था देखिएपछि खुपथ खुवाइएको मुख्य निर्वाचत अधिकृत पनेरुले बताए । उनका अनुसार कानून अनुसार सपथ खुवाइएपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवनिर्वाचित अध्यक्ष उपाध्यायलाई निलम्बन गर्नेछ ।
तत्कालीन वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो। भ्रष्टाचारको मुद्दा विचाराधीन भएका उपाध्याय अहिले पालिका अध्यक्षमा चुनिएका हुन् । मोहन्यालको अध्यक्षमा उनी बुधबार दिउँसो सम्पन्न मतगणनाअनुसार तीन हजार १३४ मत प्राप्त गर्दै उपाध्याय अध्यक्षमा निर्वाचित भएका थिए।