काठमाडौं– संघीय सरकारले मंगलबार (आज) आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्य तालिका रहेको छ ।
सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार राष्ट्रपतिद्वारा नेपाल सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमसहित संयुक्त सदनलाई सम्बोधन हुनेछ । यही नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट संसदमा पेश हुनेछ ।
मंगलबारको पहिलो बैठकमा राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गर्ने र संसद्को दोस्रो बैठक पुनः साँझ ६ बजे बस्ने कार्यसूची छ । दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधनको प्रति सदनमा टेबल गर्नेछन् ।