दार्चुला – दार्चुलामा एक शिक्षक नावालिग छात्रामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
जिल्लाको नौगाड गाउँपालिका–६ स्थित धुलिगडाका बलात्कार आरोपमा शिक्षक रामसिंह धामीलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मालिकार्जुन आधारभूत विद्यालयका कम्प्युटर विषयका शिक्षक धामीले सोही विद्यालयमा अध्यनरत १६ वर्षीया छात्रामाथि बलात्कार गरेको आरोप छ ।
अहिले उनलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान गरिरहेको दार्चुलाका इन्सपेक्टर राजेश शाहीले जानकारी दिएका छन । पीडित छात्राले धामीविरुद्ध बलात्कार, हाडनाता र साइबर क्राइम अपराधमा जाहेरी दिएकी थिइन्। उनको उजुरीपछि प्रहरीले धामीलाई समातेको उनले बताए । पीडित किशोरी आरोपित धामीको छिमेकी र बहिनी नाता पर्ने पनि बताइएको छ। आरोपित शिक्षक धामीले किशोरीलाई गत सालको फागुन महिनामा पहिलोपटक बलात्कार गरेको पनि खूलन आएको छ । आफन्तका अनुसार ती शिक्षकले बलात्कार गरेपछि भिडिओ पनि बनाएको र त्यहीँ भिडिओ देखाएर ब्ल्याकमेल गर्दै पटकपटक बलात्कार गर्ने गरेका थिए। आरोपित धामीले बनाएको भिडिओ पनि अहिले सार्वजनिक भएको प्रहरीले जनाएको छ।
यही जेठ ६ गते आरोपित धामीले उक्त भिडिओ आफ्नो एकजना साथीको पर्सनल म्यासेजमा पठाएका थिए। त्यसपछि त्यो उनका साथीले त्यो भिडिओ अरु व्यक्तिहरुलाई सेयर गरेका थिए। यसरी सेयर हुँदै गएपछि भारतको बेङ्गलोरमा बस्ने एकजनाले फेसबुकमा सार्वजनिक गरेका थिए। त्यसपछि यो घटना बाहिरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।