बाजुरा– बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । चुनाव निष्पक्ष नभएको ठहर गर्दै निर्वाचन आयोगले वैशाख ३० को निर्वाचन कार्यक्रम रद्द गरी पुनः निर्वाचन गर्ने निर्णय गरेको हो ।
आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तीन दिनभित्र हटाई अरु कर्मचारी पठाएर निर्वाचनको वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । उनीहरुलाई निर्वाचन कसुर अनुसार विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ ।
नगरपालिकाका कूल दश वटा वडामध्ये ६ वटा वडामा विवाद थियो। २, ३, ४, ५, ७ र ९ नम्बरमा रहेका मतदान केन्द्रमा स्वतन्त्र मतदान हुन नसकेको स्थानीयको भनाइ छ । २, ३, ५ र ९ नम्बर वडाका मतदान स्थललाई नेकपा एमालेका कार्यकर्ताहरुले नियन्त्रणमा लिएका थिए भने कांग्रेस कार्यकर्ताहरुले वडा नम्बर ४ र ७ लाई नियन्त्रणमा लिएर आफू अनुकूल एकोहोरो मतदान गरेका थिए ।
बुढीगंगामा उत्पन्न विवादवारे अध्ययन गर्न निर्वाचन आयूक्त सगुन सम्शेर जबरासहितको टोली नेपाली सेनाको हेलिकप्टरमा बाजुरा पुगेको थियो ।