कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखाममा बलात्कारको शिकार बनेकी ११ वर्षीया बालिकाको उपचारदेखि भरणपोषणको व्यवस्था गरिदिन माग गरिएको छ ।
महिला अधिकारकर्मीले बलात्कारमा परेकी ११ वर्षीया बालिकाको उपचारदेखि भरणपोषणको व्यवस्था गर्नुपर्ने माग अघि सार्दै विहीबार भीमदत्त नगरका प्रमुख पदम बोगटी र उपप्रमुख निलम लेखक जोशीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
महिला अधिकारकर्मी माया नेगीले बालिकामाथि करणी गर्न खोज्ने व्यक्तिले आत्महत्या गरेको अवस्थामा बालिकाको न्यायका लागि सरकारी निकाय गम्भिर हुनुपर्ने माग अघि सारेर स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको बताइन् ।
उनका अनुसार पीडित बालिकाको तत्काल स्वास्थ्य उपचार, सुरक्षा व्यवस्थापन गर्नुपर्ने, जीवन सुरक्षाका लागि निःशुल्क उच्च शिक्षा, भरणपोषण गर्नुपर्ने, समाजिक सुरक्षाको माग अघि सारिएको छ ।
पीडितको गोपनीयता भङ हुने गतिविधि भइरहेको भन्दै त्यस्ता कार्य रोक्नसमेत माग अघि सारेको छ । ज्ञापन पत्र बुझ्दै मेयर बोगटी र उपमेयर निमल लेखकले पीडित बालिकाको न्यायका लागि आफ्नो तर्फबाट काम गर्ने प्रण गरेका छन् ।
घटना बाहिरिएपछि बलात्कारको आरोप लागेको व्यक्तिले आत्महत्या गरिसकेका छन् ।