काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुखका लागि नवनिर्वाचित नगरप्रमुख बालेन्द्र शाह (बालेन) लाई पत्नी सबिना काफ्लेले बधाई दिएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत् बालेनलाई बधाई दिँदै अब मेरो बालेन हाम्रो बालेन भएको बताएकी छिन् ।
उनले निर्वाचन आयोगले बालेनलाई औपचारिक रुपमा विजेता घोषित भएलगत्तै घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन’ भन्दै प्रतिबद्धता समेत जनाएकी छिन् ।
उनले अगाडि लेखेकी छिन्, आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालीएको छ ।
तिम्रो संयमता नै तिम्रो शक्ति हो । दिन रात नभनी तिमीले गरेको मिहेनतको फल आज सबै सामु प्रष्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् !
घरी घरी डर पनि लाग्छ , अगाडि विशाल भवसागर छ , बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमी प्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ । चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गारो होला तर असम्भव छैन । तिमीलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस् ।अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस् । पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस् । तिम्रा पाइला अगाडि मात्र बढिरहुन् , ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न मेरो प्रेम, मेरो विश्वास , मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ ।
घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ ।
तिमीलाई हार्दिक बधाई । मलाई हार्दिक बधाई । हामी सबैलाई हार्दिक बधाई ।
बालेनले लौरो चिह्नबाट निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा बालेनले ६१ हजार ७ सय ६७ मत ल्याएका छन्। कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३८ हजार ३ सय ४१ मत ल्याउन सकिन भने एमालेका केशव स्थापितले ३८ हजार १ सय १७ मत पाए।