काठमाडौं – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउनू भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाएकी छिन् ।
शुक्रबार नयाँ शहर युटिलिटी कोरिडोर तथा शहरसँग सम्बन्धित कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् ।
उनले अदालतले रुख फाँड्ने कुरा, जग्गा अतिक्रमण गरेर बसेकाहरुको कुरालाई समातेर गरेको निर्णय भए त्यसको विकल्प खोज्न सकिने तर यो निर्णय कसैको प्रभावमा आएर गरेको निर्णय भएको आरोप लगाइन् ।सरकारले विमानस्थलको बुटा मात्रै काट्ने निर्णय गरेको हो भने मात्रै सर्वोच्चको यो निर्णय सही हुनसक्ने उनले बताइन् ।
मन्त्री झाँक्रीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार संसदमा गरेको सम्बोधनमाथि पनि प्रश्न उठाइन् । उनले अध्यक्ष ओलीले गरेको सम्बोधनको कुनै तुक नरहेको टिप्पणी गरिन् । मन्त्री झाँक्रीले गफले मात्रै देशको समृद्धि हुन नसक्ने भन्दै साढे तीन घण्टा बोल्न आफूले पनि सक्ने बताइन् । उनले कुर्सीमा बसेर अध्यक्ष ओलीले गरेको सम्बोधनप्रति लक्षित गर्दै आफू बोलरै आएको हुनाले साढे तीन घण्टा बोल्न कुनै गाह्रो नभएको र कुर्सीमा नबसीकनै बोल्न सक्ने भन्दै व्यंग्य गरिन् ।
मन्त्री झाँक्रीले नीति नियमको दुरुपयोगका कारण चक्रपथ बाहिरको सडक नबनेको दाबी समेत गरेकी छन । उनले बञ्चरे डाँडामा फोहोर फाल्न नदिने काम काठमाडौंबासीले नै त्यहाँको जग्गा किनेर स्थानीयहरुलाई उचालेको आरोप लगाइन् ।