काठमाडौं – पोखराबाट जोमसोम उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त भएको छ ।
बिहान ९:५५ मिनेटमा पोखराबाट जोमसोम उडेको 9N AET विमान मुस्ताङको लेते भिरमा दुर्घटनाग्रस्त भएको त्यहाँका स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखेको जानकारी दिएपनि हालसम्म मौसम खराबीका कारण विमानको घट्नास्थल पत्ता लाग्न सकेको छैन ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताए ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि पोखरा, जोमसोम लगायतका क्षेत्रमा हल्का वर्षा भइरहेको छ। त्यहाँ मौसम बदलिने क्रम जारी रहेको छ। ‘बिहान पनि केही वर्षा भएको थियो। अहिले पनि वर्षाको सम्भावना बाँकी नै छ,’ वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले भनिन्,‘आज आकाश खुल्न सक्ने सम्भावना निकै कम देखिएको छ ।’
विमानमा ३ चालकदलका सदस्य र १९ यात्रुसहित विमानमा २२ जना रहेको जनाइएको छ ।
थप विवरण आउन बाँकी छ।