काठमाडौं – १९ यात्रुसहित पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको 9N AET ट्विनअटर विमान अन्तिमपटक जोमसोम टावरसँग बिहान १० बजेर ७ मिनेटमा सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय विमानस्थलले जनाएको छ ।
कार्यालयका अनुसार उक्त जहाज बिहान १० बजेर ७ मिनेट जाँदा घोडेपानी भन्ने स्थानमा सम्पर्क आएको र सो पनि सम्पर्क बिहीन भएको थियो ।
बाक्लो बादलका कारण मौसममा सुधार हुनासाथ हवाईमार्गबाट खोजी सुरु गरिने र अहिले स्थलमार्गबाट नेपाली सेना र नेपाल प्रहरी खटिएको पनि प्राधिकरणले जनाएको छ ।
उक्त विमानमा ३ जना चालकदल र १९ यात्रुसहित २२ जना रहेको जनाइएको छ ।
उक्त जहाज क्याप्टेन प्रभाकर घिमिरेले, विमान परिचालिका किस्मी थापा र चालक दलका अर्का सदस्य उत्सव पोखरेलले उडाएको जनाइएको छ ।
बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान सम्पर्कविहीन भएको उक्त घटनाको विस्तृत विवरण आइसकेको छैन ।