काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताएका छन् ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा बोल्दै नेपालले सो धारणा राखेका हुन् । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने फैसला गरेपछि आज समितिले छलफल आयोजना गरेको थियो ।
छलफलमा सहभागी नेता नेपालले राज्यका कुनै पनि निकाय विकासको बाधक बन्न नहुने बताए । ‘विकासको सहयोगी हुनुपर्छ राज्यका कुनै पनि निकाय, विकासको बाधक हुने होइन,’ नेपालले भने ।
उनले त्यहाँको वस्तुस्थितिबारे जानकारी नभइकन बनाउन नहुने भन्ने निर्णय गरिएको टिप्पणी गरे ।
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ढिला भइसकेको बताउँदै उनले भने, ‘यो ढिला विभिन्न कारणले भएको छ, छिटो अगाडि बढाउनुपर्छ । उपाय खोजिनुपर्छ ।’