कैलाली– जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जिल्लामा सवारीको गति मापन गर्ने ‘लिडर स्पिड गन’को प्रयोग गर्न सुरु गरेको छ । उक्त उपकरणबाट सवारी साधनको गति नियन्त्रण गर्न गर्न मद्दत गर्ने छ ।
सवारी साधन तिब्र गतिमा चलाउँदा हुने दुर्घटनाको क्षतिलाई न्युनिकरण तथा नियन्त्रण गर्न लिडार स्पिड गनको प्रयोग गरिएको कैलालीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले बताए । उनका अनुसार कैलाली जिल्लामा भएको सवारी दुर्घटनाको तथ्याङक, अवस्था तथा प्रकृतिलाई बिश्लेशण गर्दा तिब्र गतिका कारण दुर्घटना भई घाइते, मृत्यु तथा धनजनको क्षति अत्याधिक मात्रामा भएको पाइएको छ ।
मोहना अत्तरिया ६ लेन सडक खण्ड र कैलालीको पुर्व पश्चिम राजमार्ग सडक खण्डमा लिडार स्पिड गनको प्रयोग गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक सिंहले बताए ।
त्यसैगरि गति सिमा सम्बन्धमा बजार क्षेत्रमा तथा व्यस्त सडकमा दुई पाङग्रे सवारी साधनले २० किमि प्रति घण्टा भन्दा बढी गतिमा चलाउन नपाउने, चार पाङग्रे सवारी साधनको हकमा ३० कि.मि. प्रति घण्टा गतिमा मात्र चलाउन पाउने र ६ लेन सडक खण्ड तथा राजमार्ग सडक खण्डमा अधिकतम ४०–६० कि.मि. प्रति घण्टा चलाउन पाउने नियम लागु गरिएको छ ।