अछाम– अछाममा नेकपा (एकीकृत समाजवादी)ले जिल्ला समन्वय समितिमा कांग्रेसले एकलौटी गरेको आरोप लगाएको छ। एकीकृत समाजवादीका केन्द्रीय सदस्य शंकर भण्डारीले समन्वय समिति गठनमा कांग्रेसले धोका दिएको आरोप लगाए । उनले स्थानीय निर्वाचनको हिसाब किताब प्रदेश र संघको निर्वाचनमा गर्ने चेतावनीसमेत दिए ।
‘हाम्रो भोटले कांग्रेसले अछाममा धेरै ठाउँमा जित्यो । कमलबजारको मेयर, रामारोशन गाउँपालिका अध्यक्ष हाम्रो सहयोगमा कांग्रेसले जितेको थियो,’ उनले भने, ‘हामीले सहयोग नगरेको भए कुनै हालतमा कांग्रेसको उम्मेदवारको जित हुने थिएन ।’
कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाहले आफूले गरेको सहमतिलाई उल्लंघन गरेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य शंकर भण्डारीले बताए। तुर्माखाद गाउँपालिका र मंगलसेन नगरपालिकामा कांग्रेसलाई सहयोग गरेबापत जिल्ला समन्वयको उपप्रमुख र २ सदस्य जिल्ला समन्वयमा सहभागी गराउने पूर्व सहमति बनेको उनले बताए।
उनले कांग्रेसका केन्द्रीय सदस्य गोबिन्द शाह, जिल्ला पूर्वसभापति भरत स्वाँर र हालका वर्तमान सभापति शाहसँग निर्वाचन अघि सहमति बनेको बताए। कांग्रेसले दिएको धोकाको जवाफ आउने संसदीय चुनावमा फर्काउने भण्डारीले चेतावनी दिएका छन्।
उता कांग्रेसका सभापति पुष्पबहादुर शाहले भने हैसियत अनुसार भाग लगाएको बताएका छन्। ‘माओवादी र एकीकृत समाजवादीलाई १र१ सदस्य जिल्ला समन्वय समितिमा दिएका छौं। शंकर भण्डारीले भने अनुसार हिस्सेदारी पाउन त स्थानीय तहमा जित्न पनि पर्यो नि’ उनले भने।