दार्चुला – दार्चुलाका ९ वटा स्थानीय तहमा १८ मतभार रहेको छ। तर जिल्ला समन्वय समिति गठन गर्नका लागि कुनै पनि दलसँग बहुमत मतभार छैन ।
एमाले र नेकपा माओवादी केन्द्र मिले भने यहाँ समन्वय समिति बनाउन सक्ने देखिएको छ ।
सबैभन्दा धेरै ५ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेको एमालेसँग पनि जिल्ला समन्वय समिति गठनका लागि बहुमत मतभार छैन। एमालेले दुहु गाउँपालिका अध्यक्ष, ब्यास गाउँपालिका अध्यक्ष, महाकाली नगरपालिका प्रमुख, उपप्रमुख, मालिकार्जुन अध्यक्ष, लेकम गाउँपालिका उपाध्यक्ष र शैल्यशिखर नगरपालिका प्रमुख उपप्रमुख जितेको छ ।
उससँग ८ वटा मतभार रहेको छ। कांग्रेसले अपिहिमाल उपाध्यक्ष, दुहु गाउँपालिका उपाध्यक्ष, नौगाड उपाध्यक्ष र मार्मा उपाध्यक्ष जितेको छ। उसको ४ मतभार रहेको छ। माओवादी केन्द्रले अपिहिमाल गाउँपालिका अध्यक्ष, नौगाड गाउँपालिका अध्यक्ष, ब्यास गाउँपालिका उपाध्यक्ष, मार्मा गाउँपालिका अध्यक्ष, मालिकार्जुन गाउँपालिका उपाध्यक्ष र लेकम गाउँपालिका अध्यक्ष जितेको छ।उसको मतभार ६ रहेको छ। कांग्रेस र माओवादी केन्द्रको १० मतभार रहेकाले चुनावमा तालमेल गरेअनुसार उनीहरूले जिल्ला समन्वय समितिको गठनमा पनि सहमति गरेर गठन गर्न सक्ने देखिएको छ। जिल्ला समन्वय समिति निर्वाचन मुख्य निर्वाचन अधिकृतको कार्यालयले मिति तोकेको आधारम हुने छ । निर्वाचन परिणाम आएको ३० दिनभित्र समन्वय समिति गठन गर्नुपर्ने छ ।
जिल्ला समन्व्य समितिमा एक जना प्रमुख, एकजना उपप्रमुख, तीन जना महिला सदस्य, तीन जना खुला सदस्य र एक जना दलित वा अल्पसंख्य सदस्य गरी ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने सहमति भएको छ । जिल्ला समन्वय समितिको निर्वाचनका लागि स्थानीय तहका प्रमुख तथा अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्ष मतदाता रहने प्रावधान छ ।
सो प्रावधान अनुसार कुनै दलसंग पनि प्रष्ट बहुमत देखिएको छैन् । दार्चुला जिल्ला समन्वय समितिमा सत्तारुढ दलहरुले गठबन्धन एकढिक्का भयो भने गठबन्धनले नेतृत्व गर्ने छ । यसअघि चुनावी गठबन्धनको बेला जिल्ला समन्वय समिति प्रमुख काग्रेसले पाउने र उपप्रमुख माओवादी केन्द्रले लिने सहमति भएको छ । यद्यपि मार्मा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष जमनसिह धामीले सहमति भएको बारे आफुलाई जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ ।