अछाम– अछाममा एक युवकको मृत्यु प्रकरणलाई लिएर तनाव उत्पन्न भएको छ । जिल्लाको पञ्चदेव विनायक नगरपालिका–४ कुच्चीमा १७ वर्षीय विनोद शाही मृत फेला परेपछि तनाव उत्पन्न भएको छ। जेठ १७ गते बेपत्ता भएका शाही शनिबार बिहान मृत फेला परेपछि तनाव उत्पन्न भएको हो।
स्थानीय तह निर्वाचनका क्रममा वैशाख ३० गते कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको ठाउँमा युवक मृत फेला परेपछि तनाव सृजना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अहिले एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई हत्या आरोप लगाएपछि विनायक क्षेत्रमा तनावग्रस्त अवस्था सिर्जना भएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए ।
प्रदर्शनकारीले प्रहरीको गाडी र इलाका प्रहरी कार्यालय समेत तोडफोड गरेका छन् भने नाराबाजी गर्दै सडकमा टायरसमेत बालेका छन् । केही दिनअघि पनि कालिकास्थनमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो ।