बुटवल – रुपन्देहीको रोहिणीमा आइतबार बिहान भएको बस दुर्घटनाका चार जनाको सनाखत भएको छ ।
दुर्घटनामा मृत्यु हुनेहरुमा रुपन्देहीको बुटवलस्थित योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल, बुटवल–११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रौतहट जिल्लाका २० वर्षीय दिनेश दास छन् । यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको पनि मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
सनाखत भएका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा मृत्यु भएको हो ।
जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४ः२० बजे भैरहवा–परासी सडकखण्डअन्तर्गतको रोहिणी पुलबाट नदीमा खसेको थियो । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए ।
उक्त दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । कतिपय गम्भीर घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।