काठमाडौं – काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फास्ट-ट्रयाक) आयोजनाको सुरुङ खन्ने काम तत्कालका लागि रोकिएको छ। यसमा निर्माण हुने सुरुङमार्गका लागि खन्ने काम गुणस्तरहीन भएको आशंका भएपछि नेपाली सेनाले तत्कालका लागि रोकेको हो। फास्ट-ट्रयाकमा सुरुङ खन्ने काम चिनियाँ ठेकेदार कम्पनीले गर्दै आएको थियो।
उक्त कम्पनीले सम्झौता अनुसारको ‘थ्री आर्म्स् जम्बो’ मेसिन नल्याई सामान्य रूपमा खन्न थालेकाले कामको गुणस्तर पनि कमजोर रहेको आशंकाले तत्काल काम रोक्न निर्देशन दिइएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता नारायण सिलवालले बताए।
‘निर्माण कम्पनीबाट अहिलेसम्म भएका सुरुङसँग सम्बन्धित कामको गुणस्तर जाँचबुझ तथा समीक्षा गर्न सुरुङ खन्ने काम केही समयको लागि रोकिएको हो,’ उनले भने, ‘द्रुतमार्ग आयोजनाले नियुक्त गरेको परामर्शदाता कम्पनीले अहिले सुरुङ मार्गको पुनरावलोकन गरिरहेको छ। यी परामर्शदाताले के निष्कर्ष निकाल्छ सोही बमोजिम निर्माण कार्य अगाडि बढ्छ।’
अहिलेकै गुणस्तर तथा गतिमा कामलाई अगाडि बढाइने वा थप गर्ने लगायतका विषयमा समेत परामर्शदाताले अध्ययन नगरी केही थाहा नहुने भएकाले निर्माण कम्पनीलाई तत्कालका लागि निर्माण कार्य रोन्न निर्देशन दिएको सिलवालको भनाइ छ ।परामर्शदाताले रिपोर्ट तयार पारेपछि गुणस्तरहीन काम भएको पाइएमा कम्पनीलाई कारवाही गरी नयाँ निर्माण कार्य सुरु गरिने पनि उनले बताए। यो विषयमा अरु थप कुरा अध्ययनको रिपोर्ट आएपछि मात्र भन्न सकिने अवस्था रहेको उनको भनाइ छ।
दुई वटा प्याकेजमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसनले काम गरिरहेका छन्। उनका अनुसार फास्ट ट्रयाकको परामर्शदाता योसिन इन्जिनियरिङ करर्पोरेसन-कोरिया एक्सप्रेस वे कर्पोरेसन एण्ड पियोङ्वा इन्जिनियरिङ कन्सल्टेन्ट जेभीले सुरुङको काम रिभ्यू गर्ने छन्।