कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका भित्र निःशुल्क रुपमा वडा क्लिनिक सञ्चालन हुने भएको छ । बुधबार धनगढी उपमहागनरपालिका र भाट–भटेनी सुपरमार्केटबीच वडा क्लिनिकबाट निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।
एक कार्यक्रमकाबीच उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र भाट–भटेनी सुपरमार्केटका प्रबन्धक निर्देशक मीनबहादुर गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर पछि बोल्दै सुपरमार्केटका प्रबन्धक निर्देशक गुरुङले उपमहानगरपालिकाका २ जना चिकित्सकलाई मासिक तलब र भत्ता दिन तयार रहेको बताए । सुदूरपश्चिममा धेरै पहिलादेखि नै स्वास्थ्य क्षेत्रमा केही न केही सेवा गदै आएको उनले बताए ।
यस प्रदेशका २ जिल्लामा आर्थिक रूपले कमजोर र जेहनदार विद्यार्थीको पठनपाठनका लागि आर्थिक सहयोग गरेको उनको भनाइ छ । यस प्रदेशका बासिन्दाहरूले औषधी अभावकै कारण बेलैमा ज्यान गुमाउनुपर्ने बाध्य भएकाले गर्दा आफ्नो थोरै सहयोगले केही राहत होस भने उद्देश्यका साथ १० वर्षदेखि सहयोग गदै आएको उनले बताए । ५ वर्षका लागि मात्रै नभई ५० औँ वर्ष सम्म पनि सहकार्य र समन्वय गर्न तयार रहेको उनको भनाइ छ ।
उपमहानगरपालिकाका नगर प्रमुख हमालले १९ वटै वडामा क्यालेन्डर बनाएर प्रत्येक महिना महिनामा चेकजाँच गर्न व्यवस्था मिलाउने बताए ।मेयरले चढ्ने गाडी समेत स्वास्थ्य शाखालाई हस्तातरण गर्न उनले बताए । आगामी आर्थिक वर्षदेखि सेवालाई सुचारु गर्न उनको भनाइ छ ।
वडा–वडा स्वास्थ्य चेकजाँच सुरु भयो भने धेरै ज्येष्ठ नागरिक, महिलाहरूको स्वास्थ्यमा क्रमिक सुधार आउने अपेक्षा समेत गरेका छन् । जनताले घर घरमा स्थानीय तह आएको अनुभूति गर्न गरेर काम गर्न उनले बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ भन्ने अभियानलाई सार्थकता बनाउने उनको भनाइ छ ।