काठमाडौं– नेपाल सरकारले मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् भारत निर्यात गर्न थालेको छ। बुधबार रातिदेखि मध्य मर्स्याङ्दीसहित पाँच वटा आयोजनाको ३ सय १२ मेगावाट विद्युत् भारत निर्यात गर्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
त्रिशूली, देवीघाट, कालीगण्डकी र मर्स्याङ्दी जलविद्युत् आयोजनाले यसअघि नै भारतमा विद्युत् बेच्न थालिसकेका थिए।
नेपाली विद्युतले भारतीय बजारमा भाउ पनि राम्रो पाइरहेको छ। बुधबबार राति १२ बजेदेखि भरे राति १२ बजेसम्मको लागि प्रतियुनिट औसत भारतीय ६ रुपैयाँ ८८ पैसा अर्थात नेपाली ११ रुपैयाँमा बिक्री भइरहेको छ।
आज निर्यात भइरहेको परिमाण र मूल्य अनुसार एकैदिन झन्डै साढे सात करोड रुपैयाँको विद्युत् भारत निर्यात हुने प्राधिकरणले जनाएको छ। इन्डियन इनर्जी एक्सचेन्ज ९आईआईएक्स० मा प्रत्येक १५ मिनेटका स्लटहरूमा विद्युत् बिक्री हुन्छ।
डे अहेड मार्केट स्वरूपमा हुने आईआईएक्सको विद्युत् कारोबारमा प्रत्येक २४ घण्टाका लागि मात्र बोलकबोल हुने गर्छ। भारतमा नेपाली बिजुलीले रातिको समयमा अधिकतम मूल्य १९ रुपैयाँ २० पैसासम्म र न्यूनतम छ रुपैयाँ २० पैसासम्म मूल्य प्राप्त गर्दै आएको छ।
लिखु–४ जलविद्युत् आयोजनाको ५२ मेगावाट विद्युत् पनि निर्यातका लागि प्रक्रिया सुरु भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए। पानी पर्ने क्रम बढेकोले नदीनालामा पानी बहाव बढ्दा चाहिनेभन्दा धेरै विद्युत् उत्पादन हुन थालेपछि भारत निर्यात थालिएको हो।