कैलाली– कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन माग गरिएको छ ।
समितिको उपप्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद खनालले अध्यक्ष उपाध्यायलाई मतदानमा सहभागी नगराउन माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, कैलालीमा निवेदन दिएका हुन् । उनले विशेष अदालतको फरार सूचिमा रहेका उपाध्यायलाई निर्वाचनको मतदान प्रक्रियामा सहभागी गराउन नपाइने उल्लेख गरेका छन् ।
नवनिर्वाचित अध्यक्ष उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यस अघि उनलाई निलम्बन गर्न सम्बन्धित निकायलाई पत्र काटिसकेको छ । उनको नाम मतदाताको नामावलीबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा पनि रिट परेको थियो ।
कैलालीमा जिल्ला समन्वय समितिको निर्वाचन सोमबार (भोलि) हुँदैछ ।समन्वय समितिका लागि सत्ता गठबन्धन सम्बद्ध नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच तालमेल छ भने एमाले र नागरिक उन्मुक्ति पार्टीले तालमेल गरेका छन् । जिल्लामा निलम्बित अध्यक्ष उपाध्यायसहित गठबन्धनमा १३ मत र एमाले नागरिक उन्मुक्ति पार्टीको १२ मत रहेको छ ।