काठमाडौं – नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यो काँग्रेसको एकलौटी सरकार नभएकोले धेरै दाबी गर्न नमिल्ने बताएका छन् ।
आज (आइतबार) काठमाडौँमा भएको नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले विभिन्न विषयमा काँग्रेस नेतारकार्यकर्ताले दाबी गर्न नमिल्ने बताएका थिए ।
‘यो काँग्रेसको एकलौटी सरकार होइन,’ प्रधानमन्त्री देउवाले भने, ‘यो नबुझीकन तपाईँहरूले क्लेम गर्ने कुरा छैन ।’
उनले नीति तथा कार्यक्रममा आएका कुराहरू कतिपय बजेटमार्फत सम्बोधन गरिएको र छुटेका भए कुनै न कुनै माध्यमबाट सम्बोधन गरिने सम्मेलनमा उपस्थित भएकाहरूलाई जानकारी गराएका थिए ।
कार्यक्रममा प्रधानमन्त्री देउवाअघि बोलेका ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले काँग्रेसकै नेतृत्वमा सरकार हुँदा आम श्रमिकलाई स्थापित गर्ने गरी कानुन आए पनि त्यो कार्यान्वयन नभएको बताएका थिए ।
‘तर दुर्भाग्यका साथ भन्नुपर्छ-यो कानुनलाई लागू गर्ने दिशामा काँग्रेस नेतृत्व र काँग्रेसकै सरकार उदासीन छ । म सभापतिलाई आग्रह गर्छु- श्रमिकलाई भोटको मात्र माध्यम नबनाउन आग्रह गर्छु ।’