काठमाडौं – सहरी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट र योजनामाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री रामकुमारी झाँक्रीले एमाले सांसदहरूलाई चुनौती दिएकी छन् ।
एमाले सांसदहरू गंगा सत्गौवा चौधरी र विमला विश्वकर्माले मन्त्रीले करोडौं रकम असुल गरेर आयोजना प्रमुख परिवर्तन गर्नेदेखि योजनाका ठेकेदार तोक्ने आरोप लगाएपछि मन्त्री झाँक्रीले प्रमाण ल्याएर आउन चुनौती दिएकी हुन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्रीलाई प्रष्टीकरण सोध्ने क्रममा एमाले सांसद चौधरीले ईआरएमसी वा उक्त कम्पनीसँग जोडिएका फर्मले मात्रै सहरी विकास मन्त्रालयका योजना किन पाउँछ ? भनेर प्रश्न गरेकी थिइन् । मन्त्रीले रकम लिएर कालोसूचीमा परेको कम्पनीलाई योजना दिएको उनको आरोप थियो । त्यस्तै, ८ महिनाको अवधिमा सहरी विकास मन्त्रालय मातहतका विभागका डीजी ३ पटक फेरिएको र आयोजना प्रमुख फेर्ने क्रममा रकम लिएको उनको आरोप थियो । चौधरीको आरोपमा एमालेकै सांसद विमला विश्वकर्माले पनि सहमति जनाउँदै दोहोर्याएकी थिइन् ।
जवाफ दिने क्रममा मन्त्री झाँक्रीले प्रमाण भए कारबाही गर्ने निकायमा जान चुनौती दिइन् । उनले आरोपका लागि आरोप नलगाउन पनि सुझाव दिइन् । ‘तथ्य, प्रमाण र दाबीसहितका कुराहरू लिएर आउनुस्स सुनेका भरमा होइन । सम्मानित सदनमा आरोप राख्नु पहिला दाबी प्रमाणित गर्नेगरी आफ्ना कुरा ल्याउनुस्,’ उनले चुनौती दिँदै भनिन्, ‘योजना छनोट गर्दा रकम कलममा भएको थियो कि भन्ने कुरा आए । हिजोअस्ति उहाँहरूले त्यस्तो गर्नुभएको थियो भने पनि आज त्यस्तो भएको छैन भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु । तर, आरोपका लागि आरोप लगाउनुभएको छ भने यो सम्मानित सदनबाट चुनौती खडा गर्न चाहन्छुस चुनौती दिन चाहन्छु । सप्रमाण कारबाही गर्ने तहसम्म आउनुस् भनेर चुनौती दिन चाहन्छु ।’
मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा एमाले सांसद सत्गौवाले मन्त्री झाँक्रीको असंसदीय भाषामा व्यक्तिगत टिप्पणी गरेकी थिइन् । उनको टिप्पणीपछि एकीकृत समाजवादीकी सांसद निरादेवी जैरुले आपत्ति जनाएपछि सभामुखले उक्त अभिव्यक्तिबारे आफ्नो ध्यानाकर्षण भएको बताएका थिए ।