काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बजेटमा उठेका विषयबारे जवाफ दिँदै मन्त्री आलेले यस्तो बताएका हुन् । त्रिभुवन विमानस्थलले आगामी दिनमो यात्रुको चाप थेग्न नसक्ने भन्दै यो विमानस्थलको विकल्प तत्काल खोज्नु पर्ने अवस्था आएको उनको भनाइ थियो ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखको निजगढको पहिलो चरणको काम पूरा गर्न १ खर्ब २० अर्ब रुपैयाँ लाग्ने भन्दै उनले यस वर्ष राखिएको २६ करोड बजेट ज्यादै न्यून भएको उल्लेख गरे । अर्थ मन्त्रालयले बजेट थप गर्ने आशा समेत उनले व्यक्त गरे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आयोजनाको विस्तृत डिजाइन बनिरहेको भन्दै उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा निर्माणको मोडालिटी बन्ने जानकारी समेत गराए । उनले जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको र आयोजनामा ३ अर्ब रुपैयाँ खर्च भइसकेको उल्लेख गरे । यो आयोजनासँग सम्बन्धित रहेर काठमाडौं मधेश द्रुतमार्गमा २ खर्ब रुपैयाँ खर्च भइसकेको समेत मन्त्री आलेले संसदमा जानकारी गराएका छन् ।