दाङ – केही दिनदेखि विवादमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ ।
दाङको तुल्सीपुरमा स्थानीय एकराज बस्नेतको घरमा पुगेपछि विवादमा तानिएकी मन्त्री खत्रीलाई बुटवल ल्याएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।
एकराज उनका प्रेमी भएको समाचार आएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सचिवालयका अनुसार मानसिक तनावका कारण बेहोस भएकी मन्त्री खत्रीलाई सोमबार राति १२ बजे अस्पताल भर्ना गरिएको हो ।
सचिवालयका अनुसार मन्त्री खत्री बस्नेतको घरमा आर्थिक लेनदेन मिलान गर्नका लागि पुगेकी थिइन् ।
‘बस्नेतले लगेको पैसा फिर्ताका लागि धेरै पटक हिसाव मिलाउनको लागि आग्रह गरियो, कुनै सुनुवाइ भएन, सम्पर्क विहीन भएपछि गएर भेटेर नै मिलाउनको लागि गएको हुँ, त्यतिबेला नै योजनाबद्ध तरिकाले नै मलाई फसाउने काम गरियो । मैले मेरो सुरक्षा, स्वकीयसहितको टिम लगेर गएको थिएँ । हामीलाई च्यानल गेट बन्द गरियो’, उनको भनाइ उद्धृत गर्दै मुख्यमन्त्री कार्यालयको सचिवालयले जनाएको छ । यसअघि उनी बस्नेतको घरमा गई उनकी श्रीमतीमाथि हातपात गरेको आरोप लागेको थियो ।
उनले आफूले सामान्य रुपमा हिसाब किताब मिलाउनको लागि गरिएको आग्रहमा पनि आफ्नो राजनीतिक र सामाजिक जीवन समाप्त पार्न षड्यन्त्र गरेको बताइन् ।
उनले भनिन्,‘पहिलेको पैसा नै नदिई, झन मेरो कारोबार बिग्रिएको छ, मेरो घरलाई बैंकमा राखेर ऋण निकाल्न खोजका थिए, मैले दिइन त्यसपछि उनले मलाई थप पीडा दिँदै तपाईंलाई मन्त्री बनाएँ, मैले के पाएँ ? भनेर बारम्बार पीडा दिइरहेका थिए ।’
मन्त्री खत्रीसँगै रहेकी प्रदेश सभा सदस्य दामा शर्माले विभिन्न तनावका कारण बेहोस भएपछि उपचारका लागि भर्ना गरिएको बताइन् ।