काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पराजित हुनुको कारण आफ्नै पार्टीभित्रको अन्तर्घातले भएको बताएका छन् ।
आज (बिहीबार) काठमाडौँका जनप्रतिनिधिसँगको अभिमुखीकरण कार्यक्रममा उनले पार्टीभित्रै सकुनीहरु निस्केको टिप्पणी गरे ।
‘हाम्रा विरोधीले केही गर्न सक्ने थिएनन्, हामी त झन्डै दुई तिहाइमा थियौँ’ उनले भने, ‘तर हाम्रैभित्रबाट सकुनीहरु निस्किए, मिरजाफरहरु निस्किए र मिरकासिमहरु निस्किए ।’
उनले अङ्ग्रेजले बङ्गाल आक्रमण गर्दा बङ्गालका सेनापति मिरजाफर र मिरकासिमले अङ्ग्रेजलाई सहयोग गरेको उदाहरण दिए ।
ओलीले साढे दुई सय मत बढाउन सकेको भए थप ८८ सिटमा जित हासिल गर्ने दाबी गरे । उनले १९ वटा पालिकामा १०० भन्दा कमले, १८ वटा पालिकामा २०० भन्दा कम, १५ वटा पालिकामा ३०० भन्दा कम, १३ वटा पालिकामा ४०० भन्दा कम र १५ वटा पालिकामा ५०० भन्दा कम मतले पराजित भएको बताए ।
‘अथवा अढाई सय भोट हामीले अरु थप्ने हो भने हाम्रो विजय थप ८८ सिटमा हाम्रो विजय हुन्थ्यो’ अध्यक्ष ओलीले भने, ‘अढाई सय भोट किज आएन म धेरै भन्न चाहन्न, हाम्रो आफ्नै कारणले त्यति मात्र सच्चिने हो भने ८८ सिट थपिन्थ्यो ।’