तनहुँ – बिहीबार तनहुँको व्यास नगरपालिका वडा नं. १० वैरेनीमा भएको एक विवाहमा फरक दृश्य देखियो । वैरेनीका २६ वर्षीय विनोद सापकोटा बेहुली लिन साइकलमा निस्के । वैरेनीबाट ६ किमी दुरीमा रहेको दमौलीमा बेहुलीको घर छ ।
साइकलमा बेहुलीलाई अगाडि राखेर चलाउँदा देख्नेहरु दङ्ग परेका थिए । बेहुलासँगै जन्ती पनि साइकलमै गएका थिए ।
सिङगार पटार गरेका बेहुलो र बेहुलीलाई साइकलमा सवार गरेको देखेर देखेपछि रोक्दै टिकटक बनाउने, सेल्फी खिच्ने भेटिए । दुलहीका बुबा पूर्णबहादुर भुजेलले दाईजोको पनि माग नभएको र खर्च धेरै नर्गन बेहुलाको पक्षले अनुरोध गरेको जानकारी दिनुभयो ।
‘यस्तो विवाहले विवाहको लागि ऋण खोज्नु पर्दैन भन्ने सन्देश दिएको छ’ भुजेलले भन्नुभयो । बेहुला सापकोटा साईकलका खेलाडी हुनुहुन्छ । उहाँले ईलामदेखि मुगुको रारासम्म साइकलमै यात्रा गर्नु भएको थियो ।
यस्तो विवाहले सन्देश प्रवाह गरेकाले खुसी लागेको पराशर माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा बेहुलाका भिनाजु रामदत्त पौडेलले बताउनुभयो । ‘इन्धन बचाउने मात्रै नभई मानिसलाई निरोगी पनि बनाउने भएकोले प्रयोग बढाउनु पर्ने यसरी गरिएको विवाहले साइकलको महत्व बढ्ने भएकोले खुसी लागेको छ’ प्रधानाध्यापक पौडेलले भन्नुभयो ।