दार्चुला – दार्चुला जिल्ला खोप समन्वय समिति पुनगर्ठन भएको छ । जिल्ला समन्वय समिति प्रमुख महादेब बडु कश्यप संयोजक रहेको खोप समन्वय समिति गठन गरिएको हो । समितिको सह संयोजकमा जिल्ला समन्वय समितिका उपप्रमुख अमर सिह ठगुन्ना रहेका छन । यस्तै समितिको सदस्यमा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय जिल्ला समन्वय समिति अधिकारी, महाकाली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर बहादुर ठगुन्ना जिल्ला अस्पताल दार्चुलाका प्रमुख, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, पत्रकार महासंघका जिल्ला अध्यक्ष लगायत रहेका छन् ।
खोप समन्वय समितिको बैठकले असार १८ गते जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने निर्णय समेत गरेको छ । हरेक बर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने स्वास्थ्य कार्यालयका प्रमुख एवं खोप समन्वय समितिका सदस्य सचिव जय राज भट्टले बताए । पूर्ण खोप सुनिश्चितताका लागि जिल्लामा घरधुरी सर्वेक्षण तथा प्रमाणीकरण काम अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर विरेन्द्र भट्टका अनुसार राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुले सबै खोप लगाए–नलगाएको बारेमा जानकारी लिनका लागि नमूनाका रुपमा घरधुरी सर्वेक्षण गर्ने कार्य पनि सकिएको छ ।
सबै पालिकाका वडामा सर्वेक्षण तथा प्रमाणीकरण भइसकेको बताइएको छ ।१६ महिनादेखि २३ महिना सम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाए–नपाएको बारेमा सर्वेक्षण भईरहेको हो । जन्मेदेखि २३ महिना सम्मका बालबालिकाहरुलाई विभिन्न रोग विरुद्ध १२ खोप दिने गरिएको छ । उहाँले भन्नुभयो– ‘पालिकालेहरुले गरेको सर्वेक्षणलाई हामीले सही छ कि छैन भनेर प्रमाणीकरण गरिरहेका छौं, सर्वेक्षणका क्रममा कुनै बालबालिका छुटेको पाइएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा लगेर खोप लगाउन उनले आग्रह समेत गर्नु भएको छ । दार्चुला जिल्लालाई वि स २०७३ सालमा पूर्ण खोपयुक्त जिल्ला भईसकेकाले प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित गर्ने गरिएको छ ।पूर्ण खोप युक्त जिल्ला घोषणापश्चात खोप पाउने उमेर समूहका बालबालिकाहरुले पूर्ण खोप पाएमा पालिकाहरुलाई प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने र त्यसपछि स्वास्थ्य कार्यालयले प्रमाणीकरण गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने गरिन्छ ।
आइतबार बसेको जिल्ला पूर्ण खोप समन्वय समिति पुनर्गठन तथा पूर्ण खोप सुनिश्चितता र दिगोपना सम्बन्धि तयारी बैठकमा जिल्ला समन्वय समिति प्रमुख महादेब बडु कश्यप अध्यक्ष रहेका थिए भने महाकाली नगरपालिका नगर प्रमुख नर सिह चैसिर प्रमुख जिल्ला अधिकारीदिर्घ राजउपाध्याय जिल्ला समन्वय समिति अधिकारी नर बहादुर ठगुन्ना लगायत डिएसपि प्रतिक विष्ट सुरक्षाकर्मी स्वास्थ्यकर्मी सहित संञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।