धनगढी: देशमा राजनीतिक उथलपुथल चलिरहेकै बेला प्रहरीभित्र पनि विभिन्न उथलपुथल भैरहेका घटना परिघटना सार्वजनिक भैरहेका छन्। हालैमात्र कैलालीस्थित नाकाका प्रहरी इन्चार्जहरु हेरफेर भएका थिए भने एक प्रहरी चौकीका इन्चार्ज आफैं प्रहरी फन्दामा परेका थिए।
त्यसमध्ये त्रिनगर प्रहरी चौकीमा भने इन्चार्ज पठाइएका सईहरु एकैदिनमा समेत तानिएका छन्। सुरुमा त्रिनगर प्रहरी चौकीका इन्चार्ज सई भरतनाथ योगीलाई जिल्ला तानेर अर्का सई दिपेन्द्र किमाडीलाई पठाइयो। तर उनी त्यहाँ एकै दिनसमेत टिकेनन्।
उनलाई पनि तानेर त्यसपछि उनको स्थानमा जिल्लाबाट वरिष्ठ सई गणेश थापालाई पठाइयो। तर थापा पनि एक दिनमै तानिए। उनलाई त्यहाँ गएको दोस्रो दिन नै फिर्ता बोलाएर अहिले प्रदेश प्रहरी कार्यालयमा दरबन्दी रहेका सई शैलेन्द्र चन्दलाई इन्चार्ज पठाइएको छ।
तर, यसरी इन्चार्ज फेरबदलको विषयमा भने कैलाली प्रहरीले नियमित प्रक्रिया र कमजोर कार्यसम्पादन भएको भन्दै स्वभाविक फेरबदल भनेको छ।
त्यस अगाडि कैलाली प्रहरीका हाकिम एसपी पदमबहादुर बिष्टले कार्यसम्पादमा कमजोर देखिएका र स्वैच्छिक सरुवा मागेका प्रहरी इन्चार्जहरुलाई यताउता गरेका थिए। उनले त्यसबखत प्रहरी चौकी कालाकुण्डा, त्रिनगर, पृथ्वीपुर र धनगढी बसपार्कका इन्चार्जहरु फेरबदल गरेका थिए।
जसमा टीकापुरस्थित कालाकुण्डा प्रहरी चौकीका इन्चार्ज वरिष्ठ सई गोकुल बलायरलाई तानेर उनको स्थानमा सई बिसन भट्ट, पृथ्वीपुरका इन्चार्ज लक्ष्मीदत्त भट्टलाई तानेर उनको स्थानमा सई हंशराज बिष्ट र धनगढी बसपार्कमा सई यज्ञराज पन्त पठाइएका थिए।
पछिल्लोसमय केही समयमै नाकामा इन्चार्जहरु तानिने र नयाँ जाने क्रम जारी छ। प्रहरीको जिल्ला र प्रदेशको नेतृत्व फेरिपछि इन्चार्जहरु पनि बेलाबेला बदलिँदै गरेको पाइन्छ।
त्यसैक्रममा टीकापुरस्थित प्रहरी चौकी सत्तीका ईन्चार्जसमेत रहेका सई अशोक खड्का कारबाहीमा परेका छन्। अस्ति शनिबार बेलुका उनलाई प्रहरीले नियन्त्रणमा लिइएको थियो।
ड्युटीमा रहेका बेला मापसे गरेपछि उनी कारबाहीमा परेका हुन्। अब उनको स्थानमा नयाँ इन्चार्ज पठाइने बताइन्छ।
र, यो पनि: कैलालीमा ‘जड्याहा’ सईमाथि कारबाही
कैलालीमा ‘जड्याहा’ सई खड्का प्रहरी फन्दामा, ड्युटीमै थिए मदिरामा मस्त
कैलालीमा नाकासहित बसपार्कका प्रहरी इन्चार्ज तानिए, नयाँ-नयाँ हानिए