बर्दिया – बर्दियासँग जोडिएको भारतीय सिमाना मुर्तीहाको घना जंगलमा निहुरो टिप्न गएका एक नेपाली माथि गोली प्रहार भएको छ ।
बिहीबार बेलुकी निहुरो टिप्न गएका गुलरिया नगरपालिका-३ का ५४ वर्षीय हेमराज गोडियामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
गोली लागेर भाग्दै घर नजिक पुगेका घाइते गोडिया केहीबेर पछि बेहोस भएका थिए । उनी होसमा आएपछि घरमा फोन गरी आफन्तीलाई बोलाएका थिए ।
राति नै उनलाई एम्बुलेन्समा उपचारका लागि गुलरिया अस्पताल ल्याइएको थियो । अत्याधिक रगत बगेका कारण उनको मृत्यु भएको प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताए । उनलाई कसले गोली हानेको हो अनुसन्धान भइरहेको शाहीले जनाए ।उनको शव गुलरिया अस्पतालमा शव परीक्षण पछि शुक्रबार दिउँसो आफन्तीले बुझेर लगेका छन् ।
स्रोतका अनुसार भारतीय वन रक्षकले गोली प्रहार गरेको आशंका गरिएको छ । कतरनिया वन्यजन्तु आरक्ष भएका कारण अनधिकृत रुपमा जंगल प्रवेश गरेको भन्दै वन रक्षकले गोली हानेको शंका गरिएको छ ।