दार्चुला – अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यार्सागुम्बा निकासीबाट ३० लाख बढि रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले हालसम्म ७ सय किलोग्राम यार्सागुम्बा निकासी बाफत ३० लाख ५ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका संरक्षक अधिकृत नुरेन्द्र अर्यालका अनुसार कार्यालयले प्रतिकिलोग्राम ३० हजार रुपैयाँका दरले राजस्व संकलन गर्ने गरेको बताएका छन । जिल्लाबाट यसवर्ष ५ सय किलोग्राम यार्सागुम्बा निकासी गर्ने कार्य योजना रहेको उहाँले बताउनु भयो ।
कार्यालयले भदौ मसान्त भित्र जिल्लाबाट यार्सागुम्बा निकासा गरि सक्ने गरी कार्यदेश दिएको छ । पछिल्ला हरेक वर्ष जलवायु परिर्वतनसँगै हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा उत्पादनमा कमी हुँदै गएको पाइएको छ । जलवायु परिवर्तनको असर यार्सा सङ्कलन गर्ने समय अनुकूल नहँुदा यसवर्ष यार्सा उत्पादन तथा सङ्कलनमा कमी आएको सरोकारवालाले आकलन गरेका छन । यार्सा निकासीका लागि पहिले संकलन अनुमति पत्र लिनुपर्ने हुन्छ । संकलन अनुमति पत्र लिदा प्रति किलोग्राम ५ हजारका दरले धरौटी रकम जम्मा गर्नुपर्ने प्रावधान रहेको छ ।संकलन पुर्जी लिएको ६० दिनभित्र छोड पुर्जि लिई यार्सा निकासी गरीसक्नु पर्ने कार्यालयले जनाएको छ ।
जिल्लाबाट हरेक वर्ष झण्डै ५ सय क्वीन्टलको हाराहारीमा यार्सा निकासी हुने गरेको तथ्याकं छ ।दार्चुलाको अपि हिमाल गाउँपालिकाको घुसा खण्डेश्वरी, सितोला, गुल्जर व्यास गाउँपालिकाको व्यास राप्ला लगायतका वनहरुमा यार्सागुम्बा पाइने गर्छ । कार्यालयले हाल सम्म बन क्षेत्रबाट मात्रै २ करोड ४ लाख २३ हजार ४९० रुपैँया राजस्व संकलन गरेको छ ।