काठमाडौँ – म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।
म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गएराती पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा यातायात सेवा बन्द भएको हो ।
सडकको बिचमा ठुलो ढुङ्गा खसेर अवरोध भएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर ईन्द्रसिंह शेरचनले बताए ।
सडक स्तरोन्नतिको ठेकेदार कम्पनी शर्मा-गजुरमुखीको डोजर परिचालन गरेपनि सफल नभएपछि विस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाउन सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालयमा प्रस्ताव गरिएको छ ।
नेपाली सेनाको टोलीलाई विस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाई सडक खुलाउन काभ्रे भीर पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सडक अवरुद्ध हुँदा बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट म्याग्दीतर्फ आउने जाने सवारीसाधन बीच सडकमा रोकिएका छन् ।
अत्यावश्यक कामले गन्तव्यमा पुग्नुपर्ने सवारीसाधन परिवर्तन गरेर यात्रा गर्न बाध्य छन् । स्थानीयवासी, मुस्ताङ घुम्ने पर्यटक र मुक्तिनाथ दर्शनका लागि आउने र जाने भक्तजनलाई समस्या भएको छ ।