दार्चुला – जिल्ला अस्पताल दार्चुलामा पछिल्लो समय ‘स्क्रब टाइफस’का बिरामी फेला पर्न थालेका छन् । अस्पतालमा आउने बिरामीमध्ये दैनिक एक÷दुई जनामा स्क्रब टाइफस देखिन थालेको मेडिकल अधिकृत राजेश भट्टले जानकारी दिनु भएको छ । ’पछिल्लो एक वर्षको अवधिमा अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक एक दुई जनामा स्क्रबटाइफस पोजेटिभ देखिन थालेको छ,’ भट्टले भने ।
पछिल्लो समय दिनप्रतिदिन यहाँ ‘स्क्रबटाइफस’का बिरामी देखिन थालेपछि यस रोगको जोखिम बढ्दै गएको जिल्ला अस्पताल दार्चुलाका मेडिकल अधिकृत भट्टले बताउनु भएको छ । अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा स्क्रबटाइफसको परीक्षण गरिरहेको छ । अस्पतालका मेडिकल अधिकृत भट्टका अनुसार विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यो वर्ष स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढेको छ ।
गत साउनदेखि हालसम्म जिल्लामा ३०५ जनामा सङ्क्रमण देखिसकेको छ । हाल सम्म जिल्ला अस्पतालमा मात्रै एक हजार ५ जनामा परीक्षण गर्दा ३०५ जनामा स्क्रबटाइफस देखिएको उनले बताएका छन । यो विचमा एक जनालाई रिफर समेत गरेको छ । यस्तै अस्पतालमा मलेरियाका संक्रमित नभेटिएपनि ९१४ जनाको परीक्षण गरिएको छ । अस्पतालमा डेंगुका विरामीहरु पनि बढदै गएको पाइएको छ ।
एक वर्षको अवधिमा अस्पतालमा पुगेका ८८२ जनाको परीक्षण गर्दा ६ जनामा डेंगु देखिएको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालले हाल सम्म ८०५ जनाको कालाजार परीक्षण गर्दा २ जनामा कालाजार देखिएको छ ।झाडापखला टाइफाइड अन्तर्गत विभिन्न रोगहरुको परीक्षण गर्दा ९४ जनामा झाडापखला टाइफाइड देखिएको छ । एक वर्ष २ सय जनाको परीक्षण गरिएको अस्पतालले जनाएको छ । बर्सातमा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखा पर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।
यो समयमा किर्नालगायतका किराले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामी पनि देखिने गरेको डाक्टर आर्दश लिम्बुले जानकारी दिनु भयो । जिल्लामा बढिजसो महिलाहरु ’पशु चौपायासँग घुलमिल हुँदा किर्नाले टोक्ने त्यसपछि स्क्रब टाइफस देखिने गरेको छ । स्क्रब टाइफसले ज्यानै लिनसक्ने भएकाले परीक्षणको दायरा बढाएर उपचार भइरहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।