काठमाडौं – न्युजिल्याण्ड पठाइदिने ६३ लाख ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । विभिन्न ९ जना व्यक्तिबाट न्यूजिल्यान्ड पठाईदिन्छु भनी नुवाकोट विदुर नगरपालिका वडा नं. ७ स्थायी घर भई हाल बुढानीलकण्ठ नगरपालिका–३ घुम्तीमा बस्ने २७ वर्षकी शोभा पौडेल पक्राउ परेकी हुन् ।
पौडेलले सिन्धुलीको दुधौली नगरपालिका–१ का नारायण बोगटीसहित ९ जनाबाट ६३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ ।
न्युजिल्याण्ड जान १२ लाख ५० हजार रुपैयाँ लाग्ने, त्यहाँ कृषि कम्पनीमा फलफूल टिप्ने काम लगाइदिने र मासिक तलब एक लाख ७० हजार रुपैयाँसम्म हुने भन्दै उनले ६३ लाख रुपैयाँ रकम लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी दिनेशकुमार आचार्यले जानकारी दिए ।
रकम लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले पौडेललाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेको थियो । पाैडेललाई प्रहरीले मंगलबार साँझ ५ बजे पौडेललाई कपनबाट पक्राउ गरेको हो ।