काठमाडौं – अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले अस्ट्रेलियाका गर्भनर जनरल डेभिड हर्लीलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन्।क्यानबेरास्थित दूतावासले एक विज्ञप्ति जारी गर्दै क्यानबेरास्थित गर्भनर हाउसमा आयोजित औपचारिक कार्यक्रममा पोखरेलले हर्ली समक्ष नेपाली राजदूतका रुपमा ओहोदाको प्रमाणपत्र बुझाएको उल्लेख गरेको छ ।
कार्यक्रममा गर्भनर जनलर हर्लीले नेपाल र अस्ट्रेलियाको द्विदेशीय सम्बन्ध लामो रहेको स्मरण गर्दै पोखरेलको सफल कार्यकालका लागि शुभकामना दिएका थिए। हर्लीले नेपाल अस्ट्रेलियाबीच रहेको सम्बन्ध विश्वास, समझदारी र सहकार्यका कारण अझ सुमधुर र गाढा बनेकोमा खुसी व्यक्त गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राजदूत पोखरेलले नेपालका राष्ट्रपति विद्यादेवि भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट पठाइएको सन्देश गर्भनर जनरललाई सुनाएका थिए । पोखरेललाई गार्ड अफ अनरसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा अस्ट्रेलियाली सरकारकातर्फबाट वैदेशिक विभागका अधिकारीका साथै चिफ अफ प्रोटोकलको समेत सहभागिता रहेको थियो भने नेपाली टोलीका तर्फबाट दूतावासका अधिकारी सहभागी थिए । नेपाल सरकारको तर्फबाट राजदूत नियुक्ति भए लगत्तै पोखरेल करिब एक साताअघि अस्ट्रेलिया आएका हुन् ।यसभन्दा पहिले राजदूत रहेका महेशराज दहाललाई तत्कालीन सरकारले फिर्ता बोलाएपछि पोखरेल वर्तमान सरकारको सिफारिसमा अस्ट्रेलियाका लागि राजदूत नियुक्त भएका हुन्।