काठमाडौं – शैक्षिक शूल्क वृद्धिको विरोधमा चक्रवर्ती कलेज अनिश्चितकालीन बन्द भएकाे छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा विद्यार्थी संगठनले आन्दोलन गरेपछि अनिश्चितकालिन बन्द भएको हाे ।
पाँच वर्षे एलएलबी र एलएमएमको शूल्क वृद्धि भएको भन्दै काँग्रेस,एमाले र माओवादी निकट विद्यार्थी संगठन विरोध गर्दै आन्दोलन गरेका छन् । कलेज प्रशासनले शुल्क घटाउनेभन्दा विद्यार्थीहरूमाथि दमन गरेपछि आन्दोलनमा उत्रिनु परेको अखिल क्रान्तिकारीका उपाध्यक्ष मिलन एमसीले बताए ।
कलेजले एलएलसीको ७ लाख १६ हजार ४ सयबाट बढाएर १० लाख ७० हजार पुर्याएको छ । यस्तै एलएलएमको ३ लाख २३ हजार २ सयबाट ५ लाख ४८ हजार पुर्याएको छ ।
शूल्क वृद्धिको विषयमा दबाब दिँदा उल्टै धरपकट गर्न थालेपछि आन्दोलन गर्न बाध्य भएको एमसीले बताए । कलेज प्रशासनले शूल्क वृद्धि फिर्ता नलिँदासम्म आन्दोलन नरोकिने विद्यार्थी संगठनले जनाएका छन् ।