काठमाडौं – असमान ढंगले कर्मचारीहरुको तलव बढाइएको भन्दै काठमाडौं, भक्तपुर र ललितपुरका नायव सुब्बाहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन् ।
सोमबार अर्थ मन्त्रालयअगाडि तीन जिल्लाका नायव सुब्बाहरुले कर्मचारीको तलव समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका हुन् ।
आइतबार सार्वजनिक भएको तलवमानमा बजेटको घोषणाविपरीत तलव बढाइएको भन्दै नायव सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचाहरू आन्दोलनमा उत्रिएका छन् । यस विषयमा आन्दोलित कर्मचारी र अर्थमन्त्रालयका अधिकारीहरुबीच छलफल भइरहेको र आफ्ना माग पूरा नगरे भोलिबाट झनै सशक्त रुपमा आन्दोलनका कार्यक्रम गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंका आन्दोलित नायव सुब्बा गोविन्दप्रसाद कोइरालाले बताए । उनले सुब्बाभन्दा माथिका कर्मचारी र सुब्बासहित त्यो भन्दा तल्लो स्तरका कर्मचारीको तलवमा असमान वृद्धि भएकाले आन्दोलनमा उत्रिएको बताए ।