– विजय खत्री
काठमाडौं – नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभागले लेखक देवेन्द्र थुम्केलीद्वारा लिखित ‘लोककलाकार जीवनी’ पुस्तक प्रकाशन गरी प्रतिष्ठानका कुलपति के.के. कर्मचार्यले मंगलबार विमोचन गर्नु भएको छ ।
विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो- “लोककला वास्तवमा महत्वपूर्ण विधा हो । संसारमा कलाको सृष्टी जुगौंदेखि भएको हो । विश्वका विकसित भएका सम्पूर्ण कलाहरु लोककलाबाट नै विकसित भएका हुन । नेपाल लोककलामा अत्यन्तै धनी छ भन्ने कुरा विश्व्ले मान्दै आएको छ । लोककलाको प्रयोग जन्मदेखि मृत्यूसम्मका क्रियाकलापहरुमा प्रयोग हुन्छ । यस कला विना जीवन नै अपूर्ण हुन्छ । नेपाली लोककला र कलाकारको बारेमा विदेशी लेखक, अनुसन्धाताहरुले मोटा–मोटा भलुममा पुस्तक प्रकाशन गर्दा खुसी हुने हामीहरु कलाकारको अवस्थाको बारेमा बेखबर छौं ।”
कार्यक्रमका विशेष अतिथि भाषाविद् गोपाल ठाकुरले कार्यक्रममा बोल्दै आधुनिक राज्यको स्थापना भएको साढे दुईसय वर्ष पुग्दासम्म पनि हामी नेपालीले अझै जीवनीमा अल्झिएका छौं वा भनौं अझै अध्ययन अनुसन्धान नै गरेका छैनौं भनेर बताउनुभयो । त्यसै बीचमा यस पुस्तक प्रकाशन हुनु राम्रो कुरा रहेको बताउदै कलाको संरक्षण तथा संवद्र्धनका लागि हामी आफै र हाम्रा सन्ततिहरुलाई नै कलामा लगाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्राज्ञ संजय वान्तवाले छोटकरीमा नेपाली लोककला र आदिबासी कला एउटै हो वा फरक हो त्यसको बारेमा डिस्कसन कार्यक्रम राखी वृहत्त छलफल गर्नु पर्ने कुरालाई जोड दिनु भयो ।
पुस्तकका लेखक देवेन्द्र थुम्केलीले “लोककला सिर्जना गर्ने कलाकारहरु आफुले गरेको सिर्जना कला हो कि होईन भन्ने दोधारमा रहेका छन् । यो पुस्तक नेपाली लोककलालाई कलाको मूल धारमा ल्याउन गरिएको प्रयत्न पनि हो । यस पुस्तकमा पाँच वटा लोककला मिथिला, नेवारी, राजवंशी, अवधी र भोजपुरी कलालाई समावेश गरिएको छ ।” भन्नु भयो । उहाँले आफ्नो मन्तव्यको क्रममा पाठ्य पुस्तकमा कलाको बारेमा अनिवार्य पढ्नु पर्ने बनाउँदाका समयलाई कोट्याउनु भयो ।
कलाकार, कार्टुनिष्ट, कला समीक्षक केशवराज खनालले “लोककलाको विषयमा अध्ययन अनुसन्धान न्यून रहेको आवस्थामा यो कृति प्रकाशन हुनु सुखद् समाचार हो । यस्ता पुस्तक भाग एक, दुई हुँदै प्रकाशन हुनु पर्छ । हाम्रो लोककला हाम्रो सम्पदा हो । यसले हामीलाई सदैव जीवित पार्दछ ।” भन्नु भएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्यको क्रममा प्राज्ञ रमेशनाथ खनालले पुस्तक सानो भए पनि गुणस्तरीए भएको बताउनु भयो भने उहाँले पुस्तक लेखनदेखि प्रकाशनसम्मको प्रक्रियाको बारेमा जानकारी दिनुभयो ।
कार्यक्रम सभापति नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभाग प्रमुख मिथिला देवीले पुस्तकका लेखक, प्रमुख अतिथी, अतिथी, कलाकार लगायत सम्पूर्णलाई धन्यवाद दिँदै कार्यक्रमको विधिवत समापन गर्नुभयो ।