काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा निर्वाचनमा भाग नलिने भएको छ ।
बुधवार एक भिडियो सन्देश जारी गर्दै पार्टी अध्यक्ष लामिछानेले प्रदेश सभाको निर्वाचनमा भाग नलिन निर्वाचन आयोगलाई जानकारी समेत गराइसकेको बताएका छन् ।
अध्यक्ष लामिछानेले प्रदेश र जिल्ला समन्वय समिति भ्रष्टाचार र खर्चको अखडा भएका कारण सुधारको माग गर्दै प्रदेश निर्वाचनमा भाग नलिने जनाएका हुन् । लामिछानेले देशव्यापी राजनीतिक भ्रमणका क्रममा प्रदेश संरचनाप्रति असन्तुष्टी देखिएको जनाउँदै स्थानीय तहलाई थप बलियो बनाएर प्रदेशसभालाई सुधारेर लैजानुपर्ने जनाएका छन् ।
उनले भनेका छन्,’यहि संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनु बाहेक केही होइन,’ अध्यक्ष लामिछानेले भनेका छन्,’प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं।’