काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२) ले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सकिएको जनाएको छ ।
गत जेठमा सञ्चालन गरेको परीक्षाको उत्तरपुस्तिका परीक्षण सकेर प्राप्ताङ्क चढाउने काम भइरहेको र यो काम भदौको दोस्रो हप्ता सक्ने कक्षा १२ को परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । उनले भने ‘अहिले इन्ट्रीको काम भइरहेको छ । दोस्रो हप्ता सकिन्छ । नतिजा सार्वजनिक हुने समय भन्न अहिले अलि हतार हुन्छ ।’
नतिजा प्रकाशन यसपटक लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार हुनेछ । जस अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङ्क ल्याउनुपर्नेछ ।
तोकिएको अङ्क भन्दा कम ल्याएमा एनजी (नन ग्रेडेड) लेखिनेछ । एनजी लेखिएका प्रमाणपत्रले माथिल्लो कक्षा पढ्न नपाउने व्यवस्था गरिएको छ । परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा ४ लाख भन्दा बढी परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ ।