काठमाडौं- दुई महिनादेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ । पटकपटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहर दुई महिनादेखि व्यवस्थापन हुन सकेको थिएन । सहरका चोक, गल्लीमा लामो समयदेखि फोहर थुप्रिएको छ । साविक बमोजिम फोहर व्यवस्थापनको लागि स्थानीयले अवरोध नगरे र पानी परेर बाटो बन्द नभए आगामी १० दिनमा सबै फोहर व्यवस्थापन हुने कामपाका प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिए । उनका अनुसार अहिले पनि काठमाडौं उपत्यकाको १८ स्थानीय तहमा आठ हजार टिप्पर फोहर व्यवस्थापन गर्नुपर्ने छ । पछिल्लो सम्झौताअनुसार फोहरको गाडीबाट लिच्चड चुहाउन पाइने छैन । तर कामपासँग अहिले लिच्चड ट्याङ्क भएको ७५ टिपर छन् । ती टिपरले दैनिक दुई टिप गर्नेछन् भने एक सय ५० वटा लिच्चड ट्याङ्क भएका टिपर भाडामा लिएर प्रयोग गर्ने तयारी रहेको सचिवालय सदस्य लम्सालले बताए । सहमतिपछि बिहीबारबाट नै दुई महिनादेखि टेकु ट्रान्सफर स्टेसनमा थुपारिएको फोहर व्यवस्थापनको काम पनि सुरु भएको छ । उक्त स्थानमा पनि अझै पाँच सय टिपर फोहर रहेको बताइएको छ । लामो समयदेखि उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनस्थलसम्म लान नपाएपछि कामपाले टेकुमा थुपारी प्लास्टिकले छोपेर राखेको थियो ।
उपत्यकाको फोहर व्यवस्थापनको सवालमा सिसडोल, बञ्चरेडाँडाका स्थानीयबीच पटक पटक सहमति भएको छ । पटकपटकको सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले समय समयमा अवरोध गर्दै गर्दा काठमाडौंमा फोहोरको डङ्गुर थुप्रने गरेको छ । स्थानीयले सहमतिपछि पनि अवरोध गर्ने गरेकाले हालको सम्झौता दीर्घकालिन नभएको भन्दै कामपाले अन्य स्थानमा फोहर व्यवस्थापन स्थान पहिचानको काम भने जारी राखेको छ ।