काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदीप गिरिको त्याग, निष्ठा र समर्पणलाई सम्झेर पार्टीलाई अघि बढाउनुपर्ने बताएका छन् ।
“समाजवादमा प्रदीपजीको गहिरो निष्ठा थियो । पार्टीलाई सिद्धान्त र आदर्शलाई हुबहु अपनाउन प्रेरित गर्नुहुन्थ्यो । प्रदीप गिरिको नीति भनेको कांग्रेसको मौलिक नीति हो । निमुखालाई न्याय अनि विपन्नलाई आय दिने र पार्टीलाई समावेशी बनाउने उहाँको धारणा थियो । सामाजिक न्याय, भूमिसुधार, किसानलाई राहत दिने कुरामा प्रदीपजी र मेरो धारणा मिल्थ्यो । आगामी दिनमा प्रदीप गिरिजस्ता साथीहरुको त्याग, निष्ठा र समर्पणलाई सम्झेर पार्टीलाई अघि बढाउनुपर्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने ।
सत्तामा गएपछि बन्धनमा परिन्छ भनेर प्रदीप गिरिले मन्त्री बन्न अस्वीकार नगरेको पनि वरिष्ठ नेता पौडेलले बताए । उनले भने, “उहाँ उन्मुक्त चेता हो, कुनै बन्धनमा नरहने खुला मानिस हो । चिन्तकका रुपमा उहाँ समाजवादी हो । समाजवादीहरु अनुशासन, मर्यादा, कानुनमा बाँधिन्छन् । कतिपय सन्दर्भमा पार्टीसँग पनि उहाँको कुरा मिल्दैनथे । सत्तामा गएपछि बन्धनमा परिन्छ भनेर मन्त्री हुनसमेत चाहनुभएन । तर मन्त्री, प्रधानमन्त्री नभए पनि उहाँले नेपाली जनताको उच्च सम्मान पाउनुभएको छ ।”
गिरिले विपक्षीको समेत मन जितेको पौडेलले बताए । उनले थपे, “संसदमा आज प्रदीप गिरि बोल्ने भनेपछि विपक्षीले समेत मन्त्रमुग्ध भएर सुन्थे । उहाँ कम्युनिस्टहरुलाई पनि शिक्षा दिन सक्नुहुन्थ्यो । मार्क्सवाद, लेनिनवादलाई पनि व्याख्या गर्न सक्नुहुन्थ्यो ।”
प्रदीप गिरिका विचारलाई अघि बढाउनका लागि तपाईं प्रधानमन्त्री बन्दै हुनुहुन्छ त भन्ने पत्रकार धमलाको प्रश्नमा वरिष्ठ नेता पौडेलले भने, “मैले प्रधानमन्त्री बन्छु भनेर घोषणा गर्नै पर्दैन । अब जनताले नै आदर्श र नैतिकवान् व्यक्तिलाई खोज्नुपर्छ । सुशासनले मात्र देश विकास हुन सक्छ । नैतिक शक्ति भएको नेतृत्वले मात्र सुशासन दिन सक्छ । जनताको विश्वासअनुसार अघि बढ्ने कुरामा घोषणा गर्ने होइन ।”