धनगढी – नेपाली काँग्रेसले पूर्वराज्यमन्त्री तथा तत्कालीन महासमिति सदस्य पुष्करनाथ ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासित गरेको दुई वर्ष पुगिसकेको छ ।
०७० सालको उपनिर्वाचनमा विजयी भएका ओझा त्यसपछि ०७४ सालको निर्वाचनमा शेरबहादुर देउवाले टिकट नदिएपछि रुष्ट थिए । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा देउवा पत्नी आरजुलाई टिकट दिइयो। पार्टीको निर्णयमा असन्तुष्ट बनेका ओझा निर्वाचनमा आरजुुको प्रचारमा गएनन्। कैलाली ५ बाट तत्कालीन नेकपाका उम्मेदवार नारदमुनी राना विजयी भए । त्यसपछि आरजुलाई चुनाव हराउन तत्कालीन नेकपालाई सहयोग गरेको आरोप ओझालाई लागेको थियो। सोही क्रममा ०७७ साउनमा उनलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासित गरिएको थियो ।
०७४ सालको निर्वाचनदेखि नै उनी राजनीतिमा निष्क्रिय जस्तै भए। उनी निकट नेता कार्यकर्ताले समयसमयमा गुट भेला गरे तर ती भेलामा पनि ओझाको उपस्थिती रहेन।
मंसिर ४ गतेका लागि सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणा गरेपछि ओझाले सक्रियता बढाएका छन्। केही सातादेखि काठमाडौंमा रहेका ओझाले महेन्द्रनगरपोष्टलाई टेलिफोनमा भने, ‘कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्छु। यसपटक पनि नलडे त सन्यास लिए भइहाल्यो नि।’ उनी सुरुमा काँग्रेसबाटै टिकट पाउनका लागि लविङमा जुटेका छन्। ‘मेरो प्राथमिकता काँग्रेसबाटै चुनाव लड्ने हो,’ ओझाले भने, ‘काँग्रेसले टिकट दिएन भने स्वतन्त्र रुपमा चुनाव लड्छु।’ उनले अन्य पार्टीबाट चुनाव लड्ने सम्भावना भने नरहेको स्पष्ट पारे । यता नेपाली काँग्रेसका कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति भीम पडालले भने काँग्रेसबाट प्रधानमन्त्री पत्नी राणा चुनाव लड्ने लगभग निश्चित भइसकेको बताए। ‘निर्वाचन हारेर पनि उहाँले पछिल्लो ५ वर्षमा निर्वाचन क्षेत्र नम्बर ५ मा धेरै काम गर्नुभएको छ,’ उनले भने, ‘यहाँबाट उहाँको उम्मेदवारी लगभग निश्चित भइसकेको छ।’
काँग्रेसबाट राणाले टिकट पाए कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा राणा भर्सेस ओझा हुने आकलन गर्न थालिएको छ। ओझा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को बजार क्षेत्रमा राम्रो प्रभाव राख्छन्। ‘उहाँसंग चुनाव नलडे पनि ६/७ हजार भोट प्रभावित गर्न सक्ने क्षमता छ,’ काँग्रेस कैलालीकै एक नेताले भने, ‘स्वतन्त्र रुपमा निर्वाचन लडे पनि उहाँ बलियो उम्मेदवार हुनुहुन्छ।’
यता एमालेबाट भने ०७४ सालमा विजयी प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री नारदमुनि रानाले टिकट पाउने लगभग पक्का छ। एमाले कैलालीका उपाध्यक्ष रणबहादुर चन्दका कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा एमाले उम्मेदवार जित्नेमा ढुक्क छन्। ‘०७४ सालको निर्वाचनमा हाम्रा उम्मेदवारको जित भएको हो, यसपटकको निर्वाचनमा पनि सबैभन्दा बलियो हामै नै छौं,’ उनले भने। एमाले कैलालीका अर्का नेताका अनुसार भने यसपटक निर्वाचन एमालेका लागि पनि सहज छैन ।
‘अघिल्लो निर्वाचनमा एमालेलाई पुष्करनाथ ओझाले सहयोग गरेका थिए,’ ती नेताले भने, ‘यसपटक उनी आफैं चुनाव लड्ने चर्चा छ। यसपटक एमालेलाई पनि अघिल्लोपटक जस्तो सहज छैन।’ स्थानीय तह निर्वाचनमा कैलालीका ४ पालिका जितेको नागरिक उन्मुक्ति पार्टीले पनि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा निर्वाचन लड्ने जनाएको छ। उक्त पार्टीबाट लक्ष्मण थारु र रेशम चोधरीकी पत्नी रञ्जिताको चर्चा छ।