डडेल्धुरा – नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमका पूर्वअध्यक्ष विक्रम शाहीले पार्टी परित्याग गरेका छन्। उनले बिहीबार सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
‘२०५४ सालमा वामदेवले फुटबाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिँदै उनका पछि लागे। गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो, त्यसको पछि लाग्नेमा म पनि थिएँ,’ उनले फेसबुकमा लेखेका छन्, ‘पार्टी विभाजनले कांग्रेसलगायत पश्चिमा पुँजीवादीहरुको नै फाइदा पुर्यायो। त्यसबापत पछुतो र आत्मग्लानी भएको छ।’
शाहीले विगत ५/६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको भन्दै आजदेखि कुनै दलमा आवद्ध नरहेको घोषणा गरेका छन्। शाही स्थानीय निर्वाचनमा सक्रिय नरहेको भन्दै पार्टीले उनलाई अध्यक्षबाट हटाएको थियो। उनी एमालेमा जाने चर्चा छ।